कास्की, फाल्गुन २० - चर्चासँगै फिल्म खेल्न निर्देशकबाट तानतान भइरहेका बेला अभिनेता निखिल उप्रेती एकाएक मुम्बई हुइँकिए । ११ महिनाअघि 'धर्मा' सकाएर मुम्बई गएका उनीबारे धेरै टीकाटिप्पणी पनि भए- अभिनेत्री सञ्चिता लुइँटेल लिएर मुम्बई गएको भन्दै । उनी भने यसलाई अस्वीकार गर्छन् । भन्छन्, 'आफ्नो क्षेत्र फराकिलो बनाउन मुम्बई गएको हुँ ।'
मुम्बईकै नेपालीहरूले निर्माण गर्न लागेको 'परिचय'का लागि आएका उनले सञ्चितासँग बिहे गर्नकै लागि मुम्बई नगएको प्रस्ट्याए । यद्यपि सञ्चिता असल साथीबाट प्रेमिका हँुदै जीवनसाथी बनेको भने उनले नकारेनन् । 'मेरो र सञ्चिताबारे नचाहिँदा कुरा आए,' सुटिङमा पोखरा आएका उनले नेपाल आएपछि पहिलोपटक कान्तिपुरसँग भने, 'बिहेका लागि नभई करिअरका लागि मुम्बई गएको हुँ ।' बिहेबारे कम खुलेका उनले सञ्चिताबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरे- 'प्रेम भयो र स्विकार्यांै, गलत भए म नै हुँ उनी हैनन् ।'
मुम्बई रहँदा चलचित्रबाट पलायन भएको प्रचारबाजी गरेको पनि उनले दुःखेसो गरे । 'मेरो गल्ती छ भने चलचित्रले अस्वीकार गरोस् केही छैन,' उनले भने, 'म सुपरस्टार थिइनँ र अहिले पनि छैन ।' उनले सञ्चितासँगको बिहेमा सञ्चिता दोषी नभएको दोहोर्याउँदै यही कारणले आफ्नो करिअर जान्छ भने बचाउन नलाग्ने बताए । यसअघि सञ्चारमाध्यममा आएका सबै कुरा मनगढन्ते भएको दाबी गर्दै उनले कसैले सोधेर समाचार नबनाएको स्पष्ट पारे ।
केसी बोकडियाको भोजपुरी चलचित्रको अफर आएपछि मुम्बई पुगेका उनी पुग्नुभन्दा अगाडि नै सञ्चिता स्टेज कार्यक्रमका लागि त्यहाँ पुगेकी थिइन् । नौ महिनापछि सञ्चिता फर्किन्, उनी मुम्बईमै रहे । एक्टर स्टुडियो मुम्बईमा सँगै फिल्म पढेका उतिबेलाका साथी र बलिउडमा थुप्रै सहायक निर्देशन गरेका आकाश पाण्डेसँगै 'परिचय' मा खेल्न उनी नेपाल आएका हुन् ।
ज्यान जाने सम्भावनाका स्टन्ड दिएर नेपाली चलचित्रमा अभिनय गरे पनि निर्माता निर्देशकले सोहीअनुरूप मूल्यांकन नगरेको र आपmनो इन्सुरेन्स पनि नभएकाले निराश भएर मुम्बई हानिएको उनले खुलासा गरे । 'फिल्ममा परिवर्तन चाहेको थिएँ तर उही उड्ने र फाइटका लागि मात्रै मलाई सम्झेँ,' उनले भने, 'दर्शकले मात्रै माया गरे, निर्माता-निर्देशकले कहिल्यै सर्पोट गरेनन् ।'
दर्शकको मायाकै कारण नेपाली चलचित्रबाट टाढा नहुने विश्वास व्यक्त गर्दै वर्षमा दुईटा नेपाली चलचित्र खेल्ने उनले बताए । 'परिचय'लगत्तै मुम्बई पुगेर 'प्रेम से खाटी सोना' बंगाली चलचित्रमा व्यस्त रहने उनलाई अरू नाम नजुरेका दुई बंगाली सिनेमाका लागि पनि अफर आएको खुलाए ।
२०५७ मा 'पिँजडा' डेब्यु गरेका उप्रेतीले सयको संख्यामा फिल्म खेलेका छन् । डेढ वर्षे छोराका बाबु उनले सञ्चितासँग विवाह गरेपछि पारिवारिक द्वन्द्व चर्किए पनि अहिले परिवार सबैले स्विकारेपछि तनावमुक्त देखिन्छन् । नेपाल आउनुअघि उनले थाइल्यान्डबाट २१ दिने स्काइड्राइभिङको लाइसेन्स पनि लिए । १४ हजार फिटमाथि हवाई जहाजबाट फाल हाल्ने उनले सहासिक हवाई खेलको तालिम पनि लिएका छन् । साभार: इकान्तिपुर