पानीको रिमझिम...कलाकारका कुरा



काठमाडौ, फाल्गुन ५ - जाडो अब त जाला कि भनी ढुक्क पर्ने खोज्नेहरूलाई बुधबारको मौसमले दैनिकी बदल्न बाध्य बनायो । वर्षातको बेला नभए पनि बिहानैदेखिको पानीको रिमझिमका कारण तपाईंहरूमध्ये कतिपयले दिनभरि सिरक छोड्नुभएन होला, थन्क्याएको मकल फेरि झिक्नुभयो होला । सेलिब्रिटीहरूले चाहिँ के गरे ?
रामकृष्ण ढकाल, गायक
भ्यालेन्टाइन्स डे मनाउन छोरी र पत्नीसहित सौराहामा थिएँ । बुधबारै पोखरा आइपुगेका छौं । सौराहाबाट हिँड्दै पानी परिसकेको थियो । झरी निकै मन पर्छ । झरीमा ड्राइभिङ मेरो सौख हो । काठमाडौंमा पनि पानी पर्दा ड्राइभिङमा निस्कने गर्छु । काठमाडौंबाट निस्कँदै मैले आफ्ना बाक्ला कपडा बोकेकाले समस्या भएन, श्रीमतीले बिर्सेकी रहिछन् । बिहीबार जोमसोमतिर जाने योजना छ तर पानीले गर्दा फ्लाइट हुने/नहुने ठेगान छैन ।
निम्रता श्रेष्ठ, अभिनेत्री
पानी परेकाले बुधबार अबेरसम्म सुतें । उठ्दा साढे दस भइसकेको रहेछ । नुहाएर फ्रेस भई नास्ता गरेर दरबारमार्गतिर निस्किएँ । पानी परेकाले होला, ट्राफिक जाम थिएन । बाटो खुला भएकाले रमाइलो लाग्यो । पानी परेकैले साथीभाइहरूसँग घुम्न जाने मौका मिल्यो । झरीले गर्दा काम खासै नहुने भएकाले फ्रि महसुस भयो । पानीमै भने भिजिनँ । बिहीबार घाम लागिदिए हुन्थ्यो । पानी परिराख्यो भने काममा बाधा पर्छ ।
किर्म, अभिनेता
दुई सातादेखि 'गुडबाई काठमान्डु' को सुटिङमा थिएँ । तर मंगलबारदेखिको वर्षाले सुटिङ रोकियो । त्यो आउटडोर सुटिङ बिहीबार इन्डोरमा भए पनि गर्ने भइएको छ । सुटिङको हिसाबले पानी परेर बिजोगै भयो तर पर्सनल्ली रिल्याक्स । बुधबार सधैंझैं सबेरै पाँच बजे उठें । सुटिङ रोकिएकाले लगत्तैदेखि फिल्म हेर्न थालें । एकपल्ट ढोकासम्म पुगेको थिएँ, निस्कने आँटै आएन । बेलुकासम्म चार फिल्म हेरें । ओस्कारमा मनोनीत फिल्महरू ल्याएको थिएँ, 'स्विट सिक्स्टीन' बढी मन पर्‍यो । फ्रेस भएको छु ।
ऋचा शर्मा, अभिनेत्री
पानीले 'हाईवे' को सुटिङ गर्न दिएन । सुटिङ बुधबार बेलुका राजधानीकै सडकमा हुनुपर्ने थियो । झरी मलाई भने राम्रो लागेको छ । अब गर्मी सुरु हुन्छ नि । मलाई जाडो खासै मन पर्दैन । दिनभर ग्वाम्लाङ्ङ सिरक ओढेर कफी पिउँदै टीभी हेर्दा खुब मज्जा आयो । बत्ती नगएकोले ममी, दिदी, हजुरमुमासहित हामी सातजना बसेर खुब रमाइलो गर्‍यौं । युट्युबमा पुराना नेपाली गीत हेरेँ, फेसबुक अपडेट गरें । तर अब पानी रोकिए हुन्थ्यो ।
अञ्जु पन्त, गायिका
भ्यालेन्टाइन्स डेभन्दा अघिसम्म जोडतोडले काम गरेकी थिएँ । त्यो दिन श्रीमान् मनोज अमेरिकाबाट आउनुभएकाले मंगलबारसम्म दिनभर घरमै बस्यौं, मस्ती गर्‍यौं । तर आज (बुधबार) त झरी पनि भन्न पाइनँ । नक्सलको पर्पल स्टुडियोमा फिल्मी, दोहोरी र एल्बमका लागि दिनभरमा पाँचवटा गीत रेकर्ड गराएँ । भोलि (बिहीबार) पनि गीत रेकर्डिङ छ । झरी परिरहेकाले दिक्कै लागिसक्यो । आज पनि बिहान उठ्न अल्छी-अल्छी लागेको थियो । साभार: इकान्तिपुर

रेखा थापालाई सम्मान



सुनसरी, फाल्गुन ८ - लिम्बुवान चलचित्र विकास बोर्डले सुनसरी इटहरीमा आइतबार एक दर्जन बढी कलाकारलाई सम्मान गरेको छ । लिम्बुवान प्रभाव क्षेत्र अरुण पूर्वको ९ जिल्ला घर भएका कलाकारलाई एकै थलोमा राखेर बोर्डले सम्मान गरेको हो ।
कार्यक्रममा मोरङ विराटचौक निवासी नायिका रेखा थापालाई सम्मान गर्‍यो । उनी कार्यक्रममा नआएपनि आमाले सम्मान थापेकी थिइन ।
बोर्डले चलचित्र र कलाको माध्यमबाट योगदान गर्ने नेपाल चलचित्र निर्माता संघका राजकुमार राई, निर्देशक प्रकाश सुब्बा, नृत्य निर्देशक कामेश्वर झालगायतलाई सम्मान गरेको थियो ।
बोर्डका सचिव मित्र लिङ्देनले देश संघीयतामा प्रवेश गरिरहेको बेला लिम्बुवान स्वायत्त प्रदेश माग गर्दै आएका आफुहरुले पनि चलचित्रको विकासका लागि बोर्ड गठन गरेको जानकारी दिए । अहिलेको व्यवसायीक नेपाली धारभन्दा पृथक रहने जातीय परम्परागत भाषाका सिनेमा निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने जोड उनले दिए ।
पूर्वमा पछिल्लो समयमा कम वजेटका धेरै जातीय सिनेमा निर्माणको क्रम बढेकोछ । थारु, धीमाल, लिम्बु, मधेसी, भोजपुरीलगायतका भाषामा वाषिर्क २ दर्जनभन्दा बढी सिनेमा निर्माण हुन थालेका छन् । यस्ता सिनेमाले आफ्नोपन ल्याएको र बन्द धेरै सिनेमा हललाई पुनः संचालन गर्न सहयोग गरेको अनुभव कार्यक्रममा कलाकाहरुले व्यक्त गरेका थिए । साभार: इकान्तिपुर

'मिस्टर मंगले' राजधानीमा


काठमाडौ, फाल्गुन १८ - तीन वर्षअघि नै मोफसलमा प्रदर्शनमा आएर राम्रै चर्चा कमाएको फिल्म 'मिस्टर मंगले' शुक्रबार मात्रै राजधानी छिर्ने भएको छ । मिराकल फिल्मस्को ब्यानरमा बनेको उक्त फिल्मले २०६६ को नेफ्टा केटीभी अवार्डमा सर्वाधिक २१ विधामा मनोनीत हुँदै उत्कृष्ट निर्देशनसहित ६ विधामा अवार्ड जितेको थियो । सोही वर्षको राष्ट्रिय फिल्म अवार्डमा समेत चरित्र अभिनेत्रीको उपाधि जितिसकेको 'मिस्टर मंगले' टेम्पोमा दूध बेच्दै हिँड्ने एक गरिब गाउँले युवकको कथा हो । किशोर रानाको निर्देशनमा बनेको उक्त फिल्म आउँदो शुक्रबारदेखि विश्वज्योतिलगायतका १४ हलमा लाग्नेछ । शुक्रबार नै लाग्ने भनिएको फिल्म 'ब्याच नं. १६' एक सातापछि सरेपछि 'मिस्टर मंगले'लाई राहत भएको छ । 'पालो कुर्नुपर्ने भएकाले राजधानीमा चल्न ढिलो भएको हो,' फिल्मका निर्माता तथा नायकसमेत रहेका वीरेन श्रेष्ठले भने, 'तर विषयवस्तुका कारण पनि फिल्म हेर्दा पुरानो लाग्दैन ।' पारिवारिक प्रेमकथा बताइएको फिल्ममा पात्र चरित्रलाई सजीव उतार्न उखान, टुक्का मिश्रति पृथक् संवादमा जोड दिइएको फिल्म पक्ष को दाबी छ । स्त्रिmप्ट र संवाद युगेश रायमाझीले लेखेका हुन् ।

वसन्त श्रेष्ठको नृत्य र हिमाल केसीको द्वन्द्वनिर्देशन रहेको फिल्ममा प्रमोद खरेल र राम कार्कीले संयुक्त रूपमा संगीत दिएका हुन् । फिल्ममा वीरेनसहित रेखा थापा, अरुणिमा लम्साल, मिथिला शर्मा, दिवस उप्रेती, राकेश लामालगायतको मुख्य अभिनय छ । साभार: इकान्तिपुर

कुमाल जातीबारे बनेको चलचित्र ‘दोभान’


पाल्पा, फाल्गुन १५ - अल्पसंख्यक कुमालजातीबारे बनेको नेपाली कथानक चलचित्र ‘दोभान’ आउँदो शनिबारदेखि प्रदर्शन हुने भएको छ । जिल्लामै पहिलो पटक निर्माण भएको चलचित्र सन्तोष चलचित्र मन्दिरबाट शुभारम्भ हुने भएको हो ।
रानिमहल फिल्मस प्रा.लि को पहिलो व्यानरमा निर्माण भएको यो चलचित्रमा अधिकॉश पाल्पाली कलाकारको अभिनय छ । चलचित्रमा कुमाल समुदायको संस्कृतिमा आधारित रहेको तर, व्यवसायिकताका कारण मनोरञ्जनका दृष्य समेट्न बाध्य भएको लेखक तथा निर्देशक इश्वर नेपालले बताए ।
कुमालजातीले माटोका भाडा बनाउने, विक्री गर्ने र यसैबाट गुजारा गर्ने चलन थियो । पछिल्लो पुस्ताले भने भारी बोक्ने, अर्काको ज्याला मजदुरी गर्ने गर्छन् 'कुमालको जन्मदेखि मृत्यू प्रक्रियाका विषयमा कथावस्तु समेटिएको छ’ नेपालले भने । प्राय नदी किनार छेउ, रातो कालो माटो कहाँ छ ? भन्दै खोज्ने र यसबाट कलात्मक माटोको भाडा बनाउने यो जातीको पुख्र्यौली पेशा हो । त्यही माटोबाट बनेका भाँडा गाउँ–गाउँ डुलेर बिक्री गृदै दैनिकी वित्छ, चक्र घुमाउदै अनि त्यहि भाँडा पनि नबिकेर समस्या । गुजाराको लागि अर्काको ज्याला मजदुरी गर्नुपर्ने बाध्यता । हो, उनीहरुको संस्कृती, रहन सहन र परम्परालाई समेटेर चलचित्र निर्माण गरिएको हो ।
चलचित्रमा लोपान्मुख रुपमा रहेको कुमाल जातिले नाच्ने पाल्पाली कौडा गीतलाई समेटिएको छ । कुमाल जातीले मनाउने चाड पर्व, जन्म, मृत्युको संस्कारलाई चित्रण गरिएको चलचित्रका छायाकार सन्तोष वस्यालले बताए ।
कुमालजातीको विवाह लगायत सामजिक रितीरिवाज र उनीहरुमाथि हुने गरेका थिचोमिचोका विषयवस्तुलाई मुख्य कथावस्तु बनाईएको उनले बताए । चलचित्र मार्फत कुमाल जातिको जनचेतना जगाउनुका साथै उनीहरुको रहनसहन र संस्कृति संरक्षणमा सहयोग पुग्ने विश्वास छ । जिल्लाका १२ गाविस र तानसेन नगरपालिकाको केही भागमा कुमाल जातिको बसोवास रहेको छ ।
नायक अनिल थापा, नायिका संगीता बस्याल, इश्वर नेपाल, विजय लक्की, मिनुज राना, कुमारी थापा, पार्वती थापा लगायत कलाकारले अभिनय गरेका छन् । कुमाल जातिका कलाकारहरुलाई पनि समेटिएको छ । कुमालको बाहुल्यता रहेको पाल्पाको चिर्तुङ्गधारा गाविसको घोरबन्दा, शिद्देश्वर गाविसको मगरान, असारे साथै गुल्मी, अर्घाखांची, लगायत रुपन्देहीका विभिन्न भागमा चलचित्रको छायाङ्कन गरिएको छ ।
तारादेबी बस्याल र निरु नेपालको प्रस्तुती रहको चलचित्रमा कृष्ण पुनः र अमर कौशलको निर्माण, ईश्वर नेपालको लेखन/निर्देशन, सन्तोष बस्यालको संगीत/छायांकन, राजु खनालको नृत्य, राजुराज सोनीको द्धन्द्ध र सुमन थापाको सम्पादन रहेको चलचित्र २ घण्टा १५ मिनेट लामो छ । शाभार: इकान्तिपुर

कमजोर कथा



काठमाडौ, फाल्गुन १९ - जिन्दगीको कुनै क्षणमा गरेको अपराधले सधंैभर पीडा दिइरहन सक्छ । राजधानीका १४ हलमा चलिरहेको नेपाली फिल्म 'तहल्का' मा दिलीप रायमाझी यस्तै चरित्रमा देखिन्छन् । सधैं सराकात्मक भूमिका देखिने उनी यसमा आपराधिक समूह तहल्का डटकमको नाइकेका रूपमा छन् ।
एक्सनप्रधान यो फिल्म यही समूहको सेरोफेरोमा घुमेको छ । दिलीप चारजना सम्मिलित तहल्का डटकमको मास्टर माइन्ड हुन् । रातारात धनी हुने सपना पालेका युवाहरू कसरी आपराधिक काममा लाग्छन् र उनीहरूलाई अरूले कसरी षड्यन्त्रमूलक रूपमा प्रयोग गर्छन् भन्ने फिल्ममा देखाउन खोजिएको छ । दिलीपसँगै पुजना प्रधान, धमेन्द्र आचार्य र रोशन श्रेष्ठ यो आपराधिक समूहका पात्रका रूपमा छन् ।
म्युजियममा रहेको हीरा चोरेर धनी बन्ने र यसपछि आफ्नो दाग पखाल्न समाजमा राम्रो काम गर्ने योजना बुनेको यो समूहले सोचेअनुसार हुँदैन । तहल्का डटकमले आपराधिक काम छाडेको थाहा पाएपछि यही समूहको नाममा अर्को समूहले वितण्डा मच्चाउँछ, जसको नेतृत्व खलचरित्र हेमन्त बुढाथोकीले
गर्छ । हेमन्तले नेतृत्व गर्ने समूह र तहल्का डटकमबीचको आपराधिक रहस्य पत्ता लाउने डीएसपी राणाको भूमिकामा रमित ढुंगाना छन् । उनी आफ्नो मिसन पूरा गर्न जागिरलाई समेत दाउमा राख्छन् ।
कथा एकदमै झिनो छ । अपराध, हत्या, आतंक र यसले मच्चाउने वितण्डाकै बीचबाट कथानक अघि बढ्छ । ऋचा घिमिरे र पुजना पनि नकारात्मक भूमिकामै छन्, फरकफरक समूहमा । पुजना तहल्का डटकमलाई सघाउने जासुसी महिलाको भूमिका छिन् भने ऋचा हेमन्तको समूहकी सुटरको भूमिकामा । प्रायः पुजना कम लुगामा देखिएकी छन् भने 'भिज्छुमा पानीमा...' गीतको आइटम डान्समा निकै हट दृश्य दिएकी छन् । तहल्का डटकमको एक सदस्यले प्रयोग गर्ने 'हाम्रो पूर्वतिर' भन्ने थेगो मौलिक लाग्छ, दर्शक हाँस्छन् ।
दीपक परिकोटी निर्देशित 'तहल्का' को अन्तिमतिर आम फिल्ममा झंै सबै अपराधीलाई फन्दामा पारेर रमित 'सुपरहिरो' बन्छन् । एउटा आपराधिक समूहमा केन्दि्रत रहेर कथामा केही नयाँपन दिन खोजे पनि अरू खासै नयाँ छैन । द्वन्द्व निर्देशन अष्ट महर्जनले गरेका छन्, तर सबैजसो फाइट परम्परागत नै लाग्छन् । अर्जुन महर्जन, राजेन्द्रमान श्रेष्ठ र रविन महर्जनले निर्माण गरेको फिल्मको एक्सनमा प्रविधि र सिर्जनशीलताको खासै प्रयोग भएको देखिँदैन । मसला फिल्म रुचाउने दर्शकका लागि भने 'तहलका' ठीकैको ठहरिन सक्छ । साभार: इकान्तिपुर

काठमाडौंदेखि मुम्बईसम्म



कास्की, फाल्गुन २० - चर्चासँगै फिल्म खेल्न निर्देशकबाट तानतान भइरहेका बेला अभिनेता निखिल उप्रेती एकाएक मुम्बई हुइँकिए । ११ महिनाअघि 'धर्मा' सकाएर मुम्बई गएका उनीबारे धेरै टीकाटिप्पणी पनि भए- अभिनेत्री सञ्चिता लुइँटेल लिएर मुम्बई गएको भन्दै । उनी भने यसलाई अस्वीकार गर्छन् । भन्छन्, 'आफ्नो क्षेत्र फराकिलो बनाउन मुम्बई गएको हुँ ।'
मुम्बईकै नेपालीहरूले निर्माण गर्न लागेको 'परिचय'का लागि आएका उनले सञ्चितासँग बिहे गर्नकै लागि मुम्बई नगएको प्रस्ट्याए । यद्यपि सञ्चिता असल साथीबाट प्रेमिका हँुदै जीवनसाथी बनेको भने उनले नकारेनन् । 'मेरो र सञ्चिताबारे नचाहिँदा कुरा आए,' सुटिङमा पोखरा आएका उनले नेपाल आएपछि पहिलोपटक कान्तिपुरसँग भने, 'बिहेका लागि नभई करिअरका लागि मुम्बई गएको हुँ ।' बिहेबारे कम खुलेका उनले सञ्चिताबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरे- 'प्रेम भयो र स्विकार्‍यांै, गलत भए म नै हुँ उनी हैनन् ।'
मुम्बई रहँदा चलचित्रबाट पलायन भएको प्रचारबाजी गरेको पनि उनले दुःखेसो गरे । 'मेरो गल्ती छ भने चलचित्रले अस्वीकार गरोस् केही छैन,' उनले भने, 'म सुपरस्टार थिइनँ र अहिले पनि छैन ।' उनले सञ्चितासँगको बिहेमा सञ्चिता दोषी नभएको दोहोर्‍याउँदै यही कारणले आफ्नो करिअर जान्छ भने बचाउन नलाग्ने बताए । यसअघि सञ्चारमाध्यममा आएका सबै कुरा मनगढन्ते भएको दाबी गर्दै उनले कसैले सोधेर समाचार नबनाएको स्पष्ट पारे ।
केसी बोकडियाको भोजपुरी चलचित्रको अफर आएपछि मुम्बई पुगेका उनी पुग्नुभन्दा अगाडि नै सञ्चिता स्टेज कार्यक्रमका लागि त्यहाँ पुगेकी थिइन् । नौ महिनापछि सञ्चिता फर्किन्, उनी मुम्बईमै रहे । एक्टर स्टुडियो मुम्बईमा सँगै फिल्म पढेका उतिबेलाका साथी र बलिउडमा थुप्रै सहायक निर्देशन गरेका आकाश पाण्डेसँगै 'परिचय' मा खेल्न उनी नेपाल आएका हुन् ।
ज्यान जाने सम्भावनाका स्टन्ड दिएर नेपाली चलचित्रमा अभिनय गरे पनि निर्माता निर्देशकले सोहीअनुरूप मूल्यांकन नगरेको र आपmनो इन्सुरेन्स पनि नभएकाले निराश भएर मुम्बई हानिएको उनले खुलासा गरे । 'फिल्ममा परिवर्तन चाहेको थिएँ तर उही उड्ने र फाइटका लागि मात्रै मलाई सम्झेँ,' उनले भने, 'दर्शकले मात्रै माया गरे, निर्माता-निर्देशकले कहिल्यै सर्पोट गरेनन् ।'
दर्शकको मायाकै कारण नेपाली चलचित्रबाट टाढा नहुने विश्वास व्यक्त गर्दै वर्षमा दुईटा नेपाली चलचित्र खेल्ने उनले बताए । 'परिचय'लगत्तै मुम्बई पुगेर 'प्रेम से खाटी सोना' बंगाली चलचित्रमा व्यस्त रहने उनलाई अरू नाम नजुरेका दुई बंगाली सिनेमाका लागि पनि अफर आएको खुलाए ।
२०५७ मा 'पिँजडा' डेब्यु गरेका उप्रेतीले सयको संख्यामा फिल्म खेलेका छन् । डेढ वर्षे छोराका बाबु उनले सञ्चितासँग विवाह गरेपछि पारिवारिक द्वन्द्व चर्किए पनि अहिले परिवार सबैले स्विकारेपछि तनावमुक्त देखिन्छन् । नेपाल आउनुअघि उनले थाइल्यान्डबाट २१ दिने स्काइड्राइभिङको लाइसेन्स पनि लिए । १४ हजार फिटमाथि हवाई जहाजबाट फाल हाल्ने उनले सहासिक हवाई खेलको तालिम पनि लिएका छन् । साभार: इकान्तिपुर
 
© Copyright 2010-2011 *हाम्रो रमाइलो साइट* All Rights Reserved.
Template Design by Herdiansyah Hamzah | Published by Borneo Templates | Powered by Blogger.com.